तिलमिलाउदै शान्तीहरु भागिरहेछ्न
मण्डपमा बुद्धको स्वागतार्थ
जङ्गबहादुरको टोप पहिर्याउने ऐलानले।
शालिकहरु सामुहिक आत्महत्याको तयारीमा लाम लागिरहेछ्न ।
आफ्नै रगतले उठाएको धरहराबाट
निस्केको धुवाँको उकुसमुकुस
धर्तीले थेग्न नसकेर।
कालिदासहरु पुरानै बाटोमा हिड्ने घोषणा गरिरहेका छ्न ।
परिवर्तनको भ्रममा
कालिदासलाई फूलमाला बोकेर स्वागत गर्न बसेका
सुकरातहरूको नौनाडी गलेको छ,
कालिदासको पुरानै रौव देख्दा।
महासमरका यात्रीहरु
एकोहोरो सगरमाथाको शिखर हेरिरहेका छन्।
हेर्दाहेर्दै तिनका दृश्यहरूको दुर्घटना हुन्छ,
टुप्पोमा फहराइरहेका
खैरा झन्डाहरू देख्दा।