वि.सं. २०४० को दशकतिर तनहुँ जिल्लाको छाङ–मनहरी, थर्पुमा जन्मिएका बीएन जोशी नेपाली साहित्यका सक्रिय स्रष्टा हुन्। सामाजिक यथार्थ, मानवीय संवेदना र प्रवास जीवनका विविध आयामलाई आफ्नो लेखनको मुख्य विषय बनाउँदै आएका जोशीको सामाजिक परिवेशमा आधारित उपन्यास ‘मोडर्न बेली’ प्रकाशित छ। वैदेशिक रोजगारीका क्रममा नेपालीहरूले भोग्नुपरेका पीडा, संघर्ष र सपनालाई जीवन्त ढंगले चित्रण गरिएको उनको संस्मरणात्मक कृति ‘श्रमाटन’ पाठकमाझ विशेष चर्चित छ। उक्त कृति भारतस्थित निराला पब्लिकेशनबाट अङ्ग्रेजी भाषामा समेत प्रकाशित भइसकेको छ, जसले उनको लेखनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको छ।
तीन दशकभन्दा लामो यात्राका अनुभवलाई साहित्यिक संवेदनामा रूपान्तरण गर्दै लेखक बीएन जोशीले हालै यात्रा–संस्मरण ‘फुकुवा’ प्रकाशित गरेका छन्। यात्रा, इतिहास, संस्कृति र आत्मअन्वेषणलाई एउटै आख्यानमा गाँस्ने प्रयास गरिएको यस कृतिबारे उनीसँग गरिएको संक्षिप्त कुराकानी।
“एक यात्रा अनेक अनुभूति” यो भावना कसरी जन्मियो ? एउटै यात्रामा यति धेरै अनुभूति कसरी सम्भव भयो ?
लेखकका रुपमा यात्रा मेरो लागि केवल ठाउँ परिवर्तन होइन, दृष्टिकोण परिवर्तन पनि हो । एउटै यात्रामा भेटिने मानिस, संस्कृति, प्रकृति, इतिहास र आफ्नै अन्तरमनले भिन्न अनुभूति जन्माउँछन् । त्यसैले एक यात्रा अनेक अनुभूति भन्ने भावना स्वभाविक रुपमा विकसित भयो । फुकुवा त्यही बहुआयामिक अनुभूतिहरुको साहित्यिक अभिव्यक्ति हो ।
तीन दशकको यात्रामध्ये कुन एउटा अनुभूतिले यो पुस्तक लेख्न प्रेरित गर्यो ?
कुनै एउटा मात्र घटना वा अनुभूतिले होइन, तीन दशकभरि सञ्चित भएका असंख्य यात्रा र क्षणहरुले फुकुवा लेख्न प्रेरित गरेको हो । तर एउटा साझा अनुभूति भने सधैँ रह्यो । हरेक यात्राले मानिस, समाज र आफ्नै भित्री संसारलाई चिन्ने अवसर दियो । अन्ततः यस पुस्तकको रुप लियो ।

फुकुवा नाम नै किन रोज्नु भयो र यसमा विशेष अर्थ छ ?
फुकुवा एउटा शीर्षक मात्र होइन, एउटा भाव र चेतनाको संकेत हो ।
यसको अर्थ खुलापन, स्वतन्त्रता र सीमाभन्दा परको यात्रासँग जोडिएको छ । मैले यही नाम रोज्नुको कारण आत्मअन्वेषण र मुक्त यात्राको अभिव्यक्ति हो । त्यसैले फुकुवा यसको आत्मासँग सबैभन्दा नजिक लागेको नाम हो ।
शिल्प र प्रक्रियाको बारेमा अनेक अनुभूतिहरुलाई एउटै सुसंगत आख्यानमा कसरी आकार दिनुभयो ?
मैले प्रत्येक यात्रालाई छुट्टाछुट्टै घटनाका रुपमा हैन, एउटै चेतना प्रवाहका रुपमा हेरेँ । त्यसैले यात्रा संस्मरण, इतिहास, संस्कृति र आत्मानुभूतिलाई सन्तुलित रुपमा गाँसिदै पाठकलाई एउटा अखण्ड आख्यानको अनुभूति दिने प्रयास गरेको छु ।
यात्राकै क्रममा लेख्नुभयो कि फर्केपछि स्मृतिका आधारमा ?
दुवै प्रक्रिया अपनाएँ । यात्राकै क्रममा डायरी, टिपोट र तस्बिर मार्फत तत्कालीन अनुभूति सुरक्षित गर्थेँ । अनि फर्केपछि ती अनुभवलाई समयको दुरीबाट फेरि नियालेर साहित्यिक रुप दिन्थेँ । कुनैकुनै अध्याय त निकै लामो अन्तरालपछि उनेको छु । यसरी तत्कालको ताजापन र स्मृति दुवैलाई संगै समेटेको छु ।
के समावेश गर्ने र छोड्ने, यो निर्णय कसरी गर्नुभयो ?
चयनको मुख्य आधार साहित्यिक मूल्य र पाठकप्रतिको जिम्मेवारी थियो । केवल रोचक घटना भएकाले होइन, अनुभवले गहिरो अर्थ, मानवीय संवेदना वा नयाँ दृष्टिकोण दिन्छ कि दिदैँन भन्ने आधारमा समावेश गरेँ । अनावश्यक दोहोरिने वा कथाको प्रवाहलाई कमजोर बनाउने सामग्री भने सचेत रुपमा छोडेँ ।

नेपालबाट हेर्दा बाहिरी दुनियाँ कस्तो देखिन्छ र यो दृष्टिकोण पुस्तकमा कसरी झल्किएको छ ?
नेपालबाट बाहिरी दुनियाँलाई हेर्दा मैले केवल विकास, प्रविधि वा भौतिक सम्पन्नता मात्र देखिनँ । प्रत्येक समाजको आफ्नै संघर्ष, संस्कृति, मानवीय संवेदना र जीवदर्शन पनि देखेँ । यही कारण फुकुवामा बाहिरी संसारलाई तुलना वा आकर्षणका रुपमा होइन । सिकाइ र संवादको अवसरका रुपमा प्रस्तुत गरेको छु ।
यस पुस्तकले विश्वलाई नेपाली आँखाले हेर्दै फेरि त्यही विश्वको ऐनामा नेपाललाई पनि नयाँ ढंगले बुझ्ने प्रयास गरेको छु ।
नेपाली यात्रा साहित्यमा यो पुस्तक कहाँ उभिन्छ जस्तो लाग्छ ?
आफ्नो कृतिको स्थान निर्धारण गर्ने अधिकार पाठक र समालोचककै हो । मेरो प्रयास भने नेपाली यात्रा साहित्यमा केवल स्थानहरुको वर्णन मात्र होइन, सकेसम्म समाज, संस्कृति, इतिहास, स्मृति र आत्मअनुभूतिलाई एउटै साहित्यिक आख्यानमा जोड्ने रहेको छ । यदि फुकुवाले नेपाली यात्रा साहित्यमा नयाँ दृष्टि, नयाँ संवेदना र नयाँ विमर्श थप्न सकेको छ भने त्यसलाई नै ठुलो उपलब्धि ठानेको छु ।
नेपाली पाठकले यो पुस्तकबाट के लिएर जाउन् भन्ने चाहना छ ?
फुकुवा पढिसकेपछि संसारलाई हेर्ने दृष्टि पनि साथमा लिएर जाउन् । यात्रा केवल दूरी नाप्ने काम होइन, आफ्नै अन्तरमनलाई चिन्ने प्रक्रिया हो भन्ने अनुभूति यस पुस्तकले दिलाओस् । यदि यसले पाठकमा जिज्ञासा र यात्राप्रतिको नयाँ चेतना आयो भने सार्थक होला ।
“यात्रा मात्र होइन जीवनको खोज” यस यात्रामा आफ्नो बारेमा के पत्ता लगाउनुभयो ?
यस लामो कालखण्डको सफरले मलाई सबैभन्दा बढी आफ्नै बारेमा सिकायो । संसार घुम्दै जाँदा थाहा भयो, वास्तविक यात्रा बाहिरभन्दा बढी भित्र हुने रहेछ । फरकफरक भूगोल, संस्कृति र हरेक यात्राले अन्ततः आफूलाई नै अझ स्पष्ट रुपमा चिनाउने रहेछ भन्ने अनुभूति दिलायो ।
यात्रा साहित्यले नेपाली पाठकलाई के दिन सक्छ, जुन अरु बिधाले दिन सक्दैन ?
यात्रा साहित्यले एकैसाथ संसार र समाजलाई नयाँ दृष्टिले हेर्ने अवसर दिन्छ । यसले भूगोल संगै इतिहास, संस्कृति, सभ्यता र मानवीय सम्बन्धलाई जीवन्त रुपमा अनुभूत गराँउछ । अरु बिधाले कल्पना वा विचार दिन सक्छन् । तर यात्रा साहित्यले अनुभवको विश्वसनीयता, प्रत्यक्षताको संवेदना र संस्कृतिहरुबीच संवाद गर्ने दुर्लभ अवसर प्रदान गर्छ ।
अर्को पुस्तकको योजना के कसो छ ?
लेखनी मेरो जीवनको निरन्तर यात्रा हो । त्यसैले केही गहन विषयका परियोजनामा काम गरिरहेकै छु । अहिलेलाई यत्ति नै भनौँ । विभिन्न कालखण्ड र परिवेशलाई समेटेर निस्किएको फुकुवा कृतिले पाएको पाठकीय प्रतिक्रियाले आगामी लेखनलाई अझ जिम्मेवार र परिपक्व बनाउने विश्वास दिएको छ ।
You must be logged in to post a comment.