credit: ChatGPT.
December 12, 2025
by

बौलाहा अम्मरे बन्यो विद्रोही 

गणेश खड्का

कथाको गहिराइ पाठकको डुब्न सक्ने क्षमतामा हुन्छ कि लेखकको गहिराइतिर डोर्‍याउने शक्तिमा? अरू कथाको कुरा भए भन्न सकिन्थ्यो। तर यो कथा भिन्नै छ। भिन्नै कुन अर्थमा भने यस कथाको तौल शून्य छ। न कुनै सन्देश भेटिने सम्भावना न घटनाक्रमबिच तालमेल। तैपनि यो कथा छ— जस्तो हावा देखिँदैन तर छ अनि त्यसको यथार्थ हरपल महसुस गरिन्छ। हुनु र नहुनुको फरक त्यस चिजले तान्न सक्ने आकर्षणमा भर पर्छ होला। यो कथामा आकर्षण छ भन्न सकिन्छ। कस्तो आकर्षण पाठकले पढिसकेपछि अन्त्यमा मूल्याङ्कन गर्दा बेस होला।

कथा त्यस्तो व्यक्तिको हो जो संसार जित्नबाट एउटा तिलको गेडा बराबरको दूरीले चुक्यो। विद्रोही। हो, विद्रोही हो उसको नाम। यो नामसम्म आइपुग्नुको यात्राको पनि कहानी छ। कहानी छोटो छ, भनिहालुँ। जस्तो आम मानिसहरूको नाम न्वारानमा राखिन्छ, उसको पनि राखिएको थियो। सात दिन यो विचित्रको दुनियाँमा आगमन भइसकेपछि एउटा टुप्पी लामो पालेको, खैरो दौरासुरुवाल लगाएको बाहुन भनिने मान्छेले “ल बाबु, तिम्रो नाम आजबाट बलबाहादुर” भनेर ठोकुवा गरिदिए। त्यसपश्चात् घरमा अनि अन्य प्रयोजनका लागि बाआमाले अमर भनेर राखिदिए

केही दशकपछि जब विद्रोही विद्रोहको भाषा बोल्न थाल्यो अनि समाजले उसलाई अराजक पात्रको रूपमा औँल्याउन थाल्यो, समाजले उसलाई अर्को नाम उपहार दियो— बौलाहा अमरे

बौलाहा अमरे नाम बोकेर विद्रोही फेरि केही वर्ष भौँतारिरह्यो। समाजको हरेक अङ्गलाई चामलबाट ढुङ्गा छुट्याएजस्तो छुट्याएर बुझ्न थाल्यो अनि चेतनाले एउटा खुड्किलो उक्लियो। जब उसले यो बुझ्यो कि नाम राखिदिने बाहुन, बा, आमा, समाज— यी सब दुनियाँको दिनचर्या चिनाउने साहाराहरू उसको संसार हेर्ने नजरिया बुझ्ने हैसियत राख्दैनन् भने यिनीहरूले दिएको परिचय बोक्नुको के नै अर्थ! हो, यहीँ जन्मियो उसको असली नाम— विद्रोही

सुरु गरौँ है त! एक मानेमा विद्रोहीलाई लेखक भन्दा हुन्छ, अझ स्पेसिफिक हुने हो भने उसलाई साहित्यकार भन्दा फरक नपर्ला। विद्रोहीका रचनाहरू न किताबमा भेटिन्छन् न कुनै म्यागेजिनमा न कुनै पत्रिकामा। उसका रचनाहरू सिर्फ दुई ठाउँमा फेला पार्न सकिन्छ: एक, उसको झोला, जुन हरपल हरबखत उसको ढाडमा टाँसिएको भेटाउन सकिन्छ; र अर्को ठाउँ— खैर के भनौँ। फेरि पाठक उसलाई समाजले राखिदिएको प्यारो नाम बौलाहा अमरे भनेर बोलाउन थाल्नेछन्। के फरक पर्छ र, भनिहालुँ— उसको मस्तिष्क।

विद्रोहीलाई उसका रचनाहरू कतै छापियोस् भन्ने लोभ वा त्यसबाट केही रकम आर्जन गरुँला भन्ने खोस्टा बराबर मतलब थिएन। उसलाई यो लागिसकेको थियो कि उसका रचनाहरू अमर भइसकेका छन्, जुन यदि दुनियाँले पढ्यो भने विष बनि जानेछन्। तपाईं भन्नुहोला, अनि के विद्रोही साँच्चै साहित्यकार हो त? यदि विद्रोहीले एउटा चिजबाट मुक्ति पाउँछ भने ऊ साँच्चै साहित्यकार हो।

डर छ विद्रोहीभित्र। भयानक डर। उसलाई यस चिजबाट मुक्ति पाउन त्यति नै जरुरत छ जति पानीबाट बालुवामा आइपुगेको माछालाई पानीको जरुरत हुन्छ। यो डर विद्रोहीभित्र कहिले र कसरी पस्यो? यसको छुट्टै कहानी बन्न पनि सक्ला, तर अरू कुनै बेला। यो डरभित्र गुजुल्टिएका अनेकौँ डर मध्ये एउटा डर यो हो कि विद्रोही मृत्युको खुट्टामा टाउको टेकाउनुअघि संसारमा लेखिएका हरेक कालजयी साहित्यमा डुब्न चाहान्थ्यो। साहित्यको विशाल समुद्री गहिराइमा हराउनु थियो विद्रोहीलाई हमेशा-हमेशाका लागि। तर के सम्भव छ शब्दहरूको जालोमा आफूलाई त्यागेर साहित्यलाई पुज्न? के माकुराको जालोमा फसेको झिँगा र विद्रोहीमा केही फरक भेटिन्छ?

विद्रोही मग्न छ भलै ऊ भित्र डरका छालहरू गगन चुम्ने उचाइ ताक्दै उफ्रिरहेका हुन्छन्। छुट्टै संसार निर्माण गरेको छ उसले, जहाँ उसले पढेका हरेक उपन्यासका पात्रहरू उसका ओरिपरी घुमिरहेका हुन्छन्। अजिब शक्ति छ विद्रोहीभित्र। उसले पढेका किताबका लेखक र तिनका पात्रहरू विद्रोही यथार्थमा देख्न सक्छ, संवाद गर्न सक्छ। कहिले अल्बर्ट क्यामुस त कहिले लियो टोल्स्टोय त कहिले फ्योदोर दोस्तोएव्स्की त कहिले रुसी साहित्यका महान् लेखकहरू। विद्रोही हरेक दिन मानौँ लुगा फेर्दै छ, त्यसरी ऊ आफ्नो मित्रता फेर्छ।

यस पटक भने विद्रोही सन्तापलाई अँगाल्दै घुमिरहेको छ। सन्ताप पियुष मिश्राको जीवनीमा आधारित पियुष मिश्राको काल्पनिक पात्र हो। कहिले घना वनको बिचोबिच त कहिले सहरले ओकालेको फोहोरको डुङ्गुरको भद्दा चुचुरो त कहिले मसानघाट। बेग्लै हुने गर्छन् विद्रोहीका पर्यटकीय स्थलहरू। विद्रोही हरसमय यस्ता स्थलहरूमा भेटिन्छ— एकोहोरो आकाशको अनन्त खालीपन पढ्न खोजेजस्तो मुद्रामा। बडबडाइ रहेको हुन्छ विद्रोही, सिर्फ उसले देख्न सक्ने उपन्यासका पात्र र लेखकहरूसँग।

सन्ताप: अनि कस्तो लाग्यो त? विद्रोही: अद्भुत। क्या लेखाइ प्रिय पियुष मिश्रा जीको। सन्ताप: अनि अब नयाँ लेख कहिले त? विद्रोही: लेख्ने सोच्दै छु। क्यामुससँग केही सुझाव लिन बाँकी छ। हिजो मार्साल्टले जेलबाट पठाएको चिठ्ठी पाएँ— क्यामुस ‘मिथ अफ सिसिफस’ लेख्दै छन् अरे। सन्ताप: ठीक, ठीक। सिसिफसलाई त ढुङ्गा पहाडको चुचुरो सम्म गुल्ट्याउने अमर काम मिल्यो, तँलाई के त विद्रोही? विद्रोही: मलाई?

विद्रोहीलाई यस्ता प्रश्नहरूले चिड्याउने गर्छन्। ‘मलाई के’ भन्दा पनि ‘मैले के दिन सक्छु’ भन्ने सिद्धान्त पुज्ने विद्रोही यस्ता प्रश्न सुन्नेबित्तिकै रन्किहाल्थ्यो अनि सुरु हुन्थ्यो विद्रोहीको विद्रोह। यहाँ सुरु हुन्थ्यो पागलपन। भयानक पागलपन। उसलाई लाग्न थाल्थ्यो: “हटा सारा साहित्य! भाडमै जाऊ सबै लेखक! चाहिँदैन मलाई कोही। म आफैँमा कवि हुँ, आफैँमा साहित्यकार, आफैँमा भगवान् अनि आफैँमा एक महान् पागल।”

अहिले ऊ एयरपोर्टको रनवेको बिचोबिच ठिङ्ग उभिएको छ। एक्लै। सन्ताप फुत्त निस्किसकेको हुनुपर्छ, कतै किताबको पानामा सुरक्षित बसेर विद्रोहीको पागलपन सिनेमा हेरेझैँ हेर्दै होला। पछाडि उसका कृतिहरूले भरिभराउ झोला, खुट्टामा घिस्रिसकेका जुत्ता, खैरो सर्ट, खल्तीमा टम्म भरिएका डटपेन, हालसालै खौरेको कपाल अनि उम्रिँदै गरेका कपालका टुसाहरू— यस्तो छ विद्रोहीको हुलिया।

ऊ यसरी उभिएको थियो कि ल्यान्ड गर्दै गरेको प्लेन च्याप्प समात्नेवाला छ, आफ्नो झोला खोलेर सारा आफ्ना पात्रहरूलाई भर्ने छ र पठाउने छ कतै टाढा, जहाँ स्वतन्त्र जिउन पाउनेछन् उसका पात्रहरूले आफ्नो जीवन। विशाल आकाशबाट प्लेन यसरी आउँदै छ मानौँ कुनै चिल कुखुराको चल्ला टिप्न आउँदै छ। विद्रोही तयार देखिन्छ। मानौँ विद्रोही प्लास्टर भएको छ, एकदम अचल, अडिग भएर विद्रोही घुमिरहेको छ— तेज गतिमा आफूतिर आउँदै गरेको प्लेन जो अबको केही सेकेन्डमा विद्रोहीलाई किच्नेवाला छ। गार्डहरू परबाट ऊतिर दगुर्दै गरेको देख्न सकिन्छ। प्लेन रोक्न सक्ने कुरा नै भएन। ऊ खडा छ। उसको डर मिलिसेकेन्ड बाई मिलिसेकेन्ड नजिकिँदै छ। अनि जे अनुमान लगाइएको थियो त्यो नहुने कुरै भएन।

मानौँ समयको सिनेमा कसैले बिचमा पज गरिदियो। सब चिज रोकियो। सन्नाटाले निल्यो वर्तमानको ध्वनि। हावामा विद्रोहीका रचनाले भरिएका पानाहरू बग्दै छन्, मानौँ आकाशबाट पानी बर्सिरहेको छ। ती पानाहरू एकएक गर्दै विद्रोहीको रगतमा डुब्दै छन्, डुब्दै छन्…

गणेश खड्का (२६ वर्ष) दक्षिण कोरियामा बस्छन् र त्यहीँबाट आफ्नो लेखन अभ्यास गर्छन्। उनका दुईवटा लघु कथाहरू ‘साहित्य पोस्ट’ नामक अनलाइन पृष्ठमा प्रकाशित भएका छन्।

Follow Us

Subscribe

Popular

2

Kathmandu Tribune Reimagined

When the Kathmandu Tribune first launched in 2017, it set out as an independent news site committed to covering Nepal with clarity

Authors

Go toTop